जम्मू-कश्मीरमा विनाशकारी बाढी, मृत्यु संख्या ४६ पुग्यो

भारत साउन ३० । जम्मू–कश्मीरको किस्तवाड जिल्लाको दुर्गम गाउँ चसोतीमा बिहीबार आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। स्थानीय समय अनुसार दिउँसो करिब १ बजे बादल फाट्ने क्लाउडब्रस्ट घटनापछि आएको बाढीमा परी कम्तिमा ४६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्स ले जनाएको छ।

मृतकमध्ये दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल CISF का जवान रहेका छन्। बाढीले गाउँका घर, पसल, सुरक्षा चौकी र मचैल माता मन्दिर जाने तीर्थयात्रीहरूको लागि बनाइएको सामुदायिक भान्सा लंगर समेत बगाएको छ।

तीर्थयात्रा प्रभावित, सयौं संकटमा

चसोती हुँदै प्रसिद्ध धार्मिक स्थल मचैल माता मन्दिर जानु पर्ने मार्गमा वर्षेनी हुने वार्षिक यात्रा यसपालि जुलाई २५ बाट सुरु भएको थियो। तीर्थयात्रीहरूको ठूलो भिड रहेको बेलामै आएको विपत्तिले क्षति बढाएको बताइएको छ। घटनापछि बाढी र पहिरोमा फसेका १६७ जनाको उद्धार गरिएको छ, जसमा ३८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उद्धार कार्यमा राष्ट्रिय तथा राज्य विपद् प्रतिक्रिया बल, भारतीय सेना, प्रहरी र स्थानीय स्वयंसेवकहरू सहभागी छन्। १२ वटा एक्स्काभेटर प्रयोग गरेर रातभर उद्धार कार्य गरिएको हो।

प्रतिक्रिया र राहत

जिल्ला प्रशासनले तत्काल कन्ट्रोल रुम र हेल्प डेस्क स्थापना गरेर पीडितलाई सहायता पुर्‍याइरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धी लगायत प्रमुख नेताहरूले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। मचैल माता यात्रा तत्कालका लागि स्थगित गरिएको छ भने जम्मू–कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाहले स्वतन्त्रता दिवसको अवसरमा हुने चियापान र अन्य सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएको घोषणा गरेका छन्।

स्थानीय नेताहरूले उद्धार कार्य अझै जारी रहेको बताउँदै मृतकको संख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ