इटली साउन २९ । बुधबार इटालीको लाम्पेदुसा टापु नजिक भूमध्य सागरमा एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जना आप्रवासीको ज्यान गएको छ भने कैयौं अझै बेपत्ता रहेका छन्। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायोग यूएनएचसीआर का अनुसार, उक्त डुङ्गामा झन्डै ९७ जना सवार थिए।
यूएनएचसीआरका प्रवक्ता फिलिपो उङ्गारोले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै लाम्पेदुसा नजिक फेरि एक दर्दनाक घटना भएको बताएका छन्। उनका अनुसार हालसम्म २० शव फेला परिसकेका छन् भने झन्डै यति नै संख्या अझै हराइरहेका छन्। दुर्घटनाग्रस्त डुङ्गा लाम्पेदुसाबाट करिब १४ नौटिकल माइल टाढा डुबेको पुष्टि इटालीका गृहमन्त्री मातेओ पियान्तेदोसीले गरेका छन्। घटनास्थलमा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।
प्राप्त विवरण अनुसार, लिबियाको त्रिपोलीबाट मंगलबार साँझ दुईवटा डुङ्गा प्रस्थान गरेका थिए। तीमध्ये एक डुब्न थालेपछि केही यात्रुहरू अर्को डुङ्गामा सरेका थिए, तर अत्यधिक भारका कारण दोस्रो डुङ्गा पनि डुबेको हो। मृतकमध्ये एक नवजात शिशु, तीन बालबालिका, दुई महिला र दुई पुरुष छन्, जसको शव लाम्पेदुसा स्थित शवगृहमा लगिएको इटालीको समाचार संस्था अंसा ले जनाएको छ। उद्धार गरिएका ६० जना आप्रवासीलाई लाम्पेदुसास्थित आप्रवासी आश्रय केन्द्रमा राखिएको सह–निर्देशक क्रिस्टिना पाल्माले जानकारी दिइन्। समुद्रमा संकटमा परेका आप्रवासीहरूको अवस्थाबारे इटालीको आर्थिक सुरक्षा निकायको विमानले पहिचान गरी उद्धार कार्य प्रारम्भ भएको हो।
यूएनएचसीआरका अनुसार, २०२५ को सुरुदेखि हालसम्म भूमध्य सागरको केन्द्रीय मार्ग हुँदै युरोप प्रवेशको प्रयास गर्ने क्रममा कम्तीमा ६७५ आप्रवासीले ज्यान गुमाइसकेका छन्। इटालीको गृहमन्त्रालयले यस वर्ष अहिलेसम्म ३८ हजारभन्दा बढी आप्रवासी इटालीको समुद्री किनारमा पुगेको जानकारी दिएको छ। गृहमन्त्री पियान्तेदोसीले मानव तस्करी नियन्त्रण र जोखिमपूर्ण यात्रालाई प्रस्थान बिन्दुबाटै रोक्न आवश्यक रहेको भन्दै कडा कदम चालिने बताएका छन्। प्रधानमन्त्री जियोर्जिया मेलोनी नेतृत्वको सरकारले उत्तर अफ्रिकी मुलुकहरूसँग सहकार्य गर्दै आप्रवासन नियन्त्रणमा जोड दिएको छ।
