पाकिस्तान साउन २८ । पाकिस्तानी सेना प्रमुख असीम मुनीरको ‘परमाणु’ संकेतपूर्ण चेतावनीपछि अब पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि भारतप्रति कडा टिप्पणी गरेका छन्। मंगलबार इस्लामाबादमा आयोजित एक समारोहमा उनले भारतलाई सिधा चेतावनी दिँदै सिन्धु जल सन्धिमा हस्तक्षेप नगर्न चेताए। प्रधानमन्त्री शरीफले भने, “म शत्रुलाई भन्न चाहन्छु, यदि हाम्रो पानी रोक्ने प्रयास गर्यौ भने, तिमीले यो कुरा मनमा राख कि पाकिस्तानको एक थोपा पानी पनि खोस्न सक्दैनौ।” उनले यस्तो कदम फेरि दोहोरिएमा “सबक सिकाउने” चेतावनी समेत दिए।
सिन्धु जल सन्धिमा भारतको निर्णयपछि तनाव
भारतले अप्रिल २३ मा जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय लिएको थियो। यही सन्धिको आधारमा पाकिस्तान सिन्धु नदी प्रणालीबाट पानी प्राप्त गरिरहेको छ। भारतको निर्णयलाई लिएर पाकिस्तानमा चासो र आक्रोश बढिरहेको देखिएको छ।
मोदीको भनाइको सन्दर्भमा प्रतिक्रियार ?
प्रधानमन्त्री नरेन्द्र मोदीले पहलगाम आक्रमणलगत्तै “रगत र पानी सँगै बग्न सक्दैनन्” भन्ने अभिव्यक्ति दिएका थिए। पाकिस्तानका प्रधानमन्त्रीको पछिल्लो टिप्पणी भारतकै त्यही धारणा प्रति प्रत्यक्ष प्रतिक्रिया भएको विश्लेषण गरिएको छ। यद्यपि, शाहबाज शरीफको टिप्पणीप्रति भारत सरकारले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।
सैनिक र राजनीतिक तहबाट चेतावनी
यसअघि पाकिस्तानी सेना प्रमुख असीम मुनीरले भारतलाई लक्षित गर्दै गम्भीर स्तरको चेतावनी दिएका थिए। त्यसको केही दिनमै प्रधानमन्त्री शरीफको वक्तव्य आउनुले पाकिस्तानले भारतसँगको सम्बन्धमा आक्रामक धारणा लिएको संकेत देखिन्छ।
