माल्टा साउन २७ । गैरआवासीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद् माल्टाले कार दुर्घटनामा ज्यान गुमाएका खिमबहादुर पुनको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै न्याय दिलाउन पहल सुरु गरेको छ। पुनको निधन आइतबार माल्टामा कारको ठक्करबाट भएको थियो।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालका अनुसार पुनको अन्तिम बिदाइ कार्यक्रम बुधबार बिहान ९ बजे माल्टास्थित मातर–देई अस्पतालको मर्चुरी प्राङ्गणमा सम्पन्न हुने छ। माल्टा र गोजोमा रहेका नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।
अध्यक्ष खनालले मृतकको आत्माको चीरशान्तिका लागि कामना गर्दै, न्यायको खोजीमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका अनुसार न्याय सुनिश्चित गर्न नेपाल सरकारका सम्बन्धित निकायहरू, म्याड्रिडस्थित नेपाली दूतावास तथा माल्टाका कानुनी संयन्त्रहरूसँग समन्वय भइरहेको छ।
पुनको पार्थिव शरीर बुधबार साँझ टर्किस एयरलाइन्समार्फत माल्टाबाट इस्तानबुल हुँदै शुक्रबार बिहान ६स्१५ बजे काठमाडौं आइपुग्ने तालिका रहेको अध्यक्ष खनालले जानकारी दिए। एनआरएनए माल्टाले पुनको मृत्युप्रति संवेदना व्यक्त गर्दै सबै नेपालीलाई यस दुःखद घडीमा एकताबद्ध भई सहयोग गर्न आग्रह गरेको छ।
