जनकपुरधाम साउन २५ । मधेस प्रदेशका ८ जिल्लामा सवारी दुर्घटनाको सङ्ख्या वर्षेनी बढ्दो क्रममा छ। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा दुर्घटनाको मात्रामा मात्र होइन, मृत्यु र घाइते हुनेको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि देखिएको छ।
तीन वर्षमा १६ सयभन्दा बढीको ज्यान गयो
आर्थिक वर्ष २०७९र८० मा ५,९८८ वटा सवारी दुर्घटनामा ५४६ जनाको मृत्यु भएको थियो। त्यसपछि २०८०र८१ मा दुर्घटना बढेर ६,०५८ पुग्दा ५३० जनाले ज्यान गुमाए। पछिल्लो आर्थिक वर्ष २०८१र८२ मा दुर्घटनाको संख्या झनै बढ्दै ७,४४३ पुगेको छ, जसमा ५६४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै, सोही अवधिमा घाइते हुनेको सङ्ख्या ९ हजार ६७० बाट बढेर १२ हजार १२३ पुगेको छ।
सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट
प्रहरीका अनुसार दुर्घटनामा संलग्न सवारीमध्ये सबैभन्दा बढी संख्यामा मोटरसाइकल छन्। तीव्र गति, असावधानीपूर्वक सवारी सञ्चालन, गलत तरिकाले ओभरटेक गर्ने प्रवृत्ति, र साँघुरा भित्री सडकहरू मुख्य कारण भएको बताइन्छ।
जनचेतना प्रवाह भयो, प्रभाव परेन
प्रहरी नायब उपरीक्षक वकिल बहादुर सिंहका अनुसार ट्राफिक कार्यालयले विगत वर्ष २० हजारभन्दा बढी जनचेतनामूलक कार्यक्रम गरेको भए पनि सोचेजति प्रभावकारी परिणाम आउन सकेको छैन। हामीले चालक, यात्रु र विद्यार्थीहरूमा चेतना फैलाउने प्रयास गरेका थियौँ, सिंहले भने, तर चालकहरूले हेलमेट ट्राफिक प्रहरी देखाउँदा मात्र लगाउने जस्तो व्यवहार देखाएका छन्।
सीसी क्यामेरा काम नलाग्ने, रातमा दुर्घटना अनुसन्धानमा समस्या
सवारी निगरानीका लागि जडान गरिएका सीसी क्यामेरामध्ये धेरैजसो बिग्रेको अवस्थामा छन्। मधेस प्रदेशका मुख्य राजमार्गमा जडान गरिएका ५८ मध्ये ३३ वटा क्यामेरा नचल्ने अवस्थामा छन्। सिंहका अनुसार, रातको समयमा हुने दुर्घटनाहरू अनुसन्धान गर्न निकै कठिन भइरहेको छ। मर्मतको अभावमा निगरानी क्षमता घटेको छ।
राजस्व बढ्दो, दुर्घटना घट्दो छैन
सवारी नियम उल्लङ्घन गर्नेविरुद्ध कडाइ गरिएको भन्दै ट्राफिक कार्यालयले विगत तीन वर्षमा लाखौं सवारी साधन कारबाहीमा पारेको छ। २०७९र८० मा ३ लाख ५३ हजार, २०८०र८१ मा २ लाख ५९ हजार र २०८१र८२ मा २ लाख ८ हजार सवारी साधन कारबाहीमा परेका थिए। यस अवधिमा ६८ करोडभन्दा बढी राजस्व सङ्कलन गरिएको छ।
तर पनि दुर्घटनाको ग्राफ ओरालो लाग्न सकेको छैन। ट्राफिक कार्यालयका अनुसार, सीसी क्यामेराको मर्मत, सडक संरचना सुधार र प्रभावकारी जनचेतनाको संयोजन नभएसम्म दुर्घटनामा नियन्त्रण कठिन देखिन्छ।
