काठमाडौँ साउन २० । आम जनता पार्टी आजपा का अध्यक्ष तथा सांसद प्रभु साहले सरकारले मधेसलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राहतको नाममा भ्रष्टाचार गर्न खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले भने, न राहत प्याकेज छ, न योजना, न बजेट। यस्तो घोषणा केवल जनतालाई झुटा आश्वासन दिने र सरकारी निकायलाई छल्ने माध्यम बनेको छ। प्रधानमन्त्रीद्वारा सार्वजनिक गरिएको ५०० डिप बोरिङ योजना सम्बन्धमा पनि उनले आपत्ति जनाउँदै भने, “न सिँचाइ विभागलाई थाहा छ, न खानेपानी निकायलाई। यस्तो हावादारी घोषणाले पीडितलाई राहत दिन्छ कि झन् दुःखी बनाउँछ ?”
संकटग्रस्त क्षेत्र घोषणा भएपछि सार्वजनिक खरिद ऐनको दफा प्रयोग गरी बिना प्रतिस्पर्धा काम गर्न सकिने प्रावधानप्रति संकेत गर्दै सांसद साहले सरकारको नियतमाथि प्रश्न उठाएका छन्। उनले संकटको घडीमा पारदर्शिता र सुशासन चाहिने बेला अपारदर्शिता र मनपरी भइरहेको र विनियोजित बजेट दुरुपयोग हुने सम्भावना बढेको चेतावनी पनि दिएका छन्।
