जनकपुरधाम साउन १५ । प्रेमसम्बन्धमा देखिएको दरारले धनुषाको जनकपुरधाममा एक भयावह अपराध निम्त्याएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ मा खुकुरी प्रहार गरी एक किशोरीको हत्या तथा दुई महिलालाई घाइते बनाउने अभियोगमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साह रहेका छन्। उनी साउन १४ गते राति महेन्द्रनगरबाट पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गर्दै साहलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, साहले साउन १२ गते राति डेरामा बस्दै आएकी आशा यादव, उनकी छोरी अन्जली कुमारी यादव र भतिजी राधा यादवमाथि खुकुरी प्रहार गरेका थिए। घाइते अवस्थामै अस्पताल पुर्याइएकी अन्जलीको उपचारको क्रममा मृत्यु भएको हो।
राधा उपचारपछि घर फर्किएकी छिन् भने गम्भीर घाइते आशा यादवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरी अनुसन्धान अनुसार, रामबाबु साहको आशा यादवसँग प्रेम सम्बन्ध रहेको थियो। तर पछिल्लो समय सम्बन्धमा दूरी आएपछि उनी आक्रोशित भएका थिए। घटनाको रात आशासँगको टेलिफोन विवादपछि साह खुकुरीसहित डेरामा पुगेका थिए र तीनैजनामाथि आक्रमण गरेका थिए।
चिन्ताजनक कुरा के हो भने, साह यसअघि पनि हत्या अभियोगमा दोषी ठहर भइसकेका व्यक्ति हुन्। उनले २०७१ सालमा आफ्नै जेठी श्रीमतीको हत्या गरी झन्डै पाँच वर्ष जेल सजाय काटेका थिए। जेलमुक्त भइसकेपछि दोस्रो विवाह गरेका रामबाबु पछिल्लो समय आशासँग सम्बन्धमा थिए। प्रहरीका अनुसार, घटना योजनाबद्ध देखिन्छ। रामबाबुले प्रयोग गरेको खुकुरी र मोटरसाइकल दुवै प्रहरीले बरामद गरेको छ।





