तराई–मधेसको जल संरक्षणमा स्यालो एक्विफरको भूमिका महत्त्वपूर्ण : पौडेल

वीरगन्ज साउन १५ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा। किरण पौडेलले तराई–मधेस क्षेत्रमा बढ्दो जलसंकट समाधानका लागि कम्तीमा २५० मिटर गहिराइमा डिप बोरिङ आवश्यक भएको बताएका छन्।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगन्जद्वारा आयोजित वृहत् वृक्षरोपण कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले हाल पानी निकाल्न प्रयोग हुने बोरिङहरू प्रायः १०० देखि १५० मिटर गहिराइमा सीमित रहेको बताउँदै त्यो सतहमा पर्याप्त पानी नपाइने स्पष्ट पारे।

“विगत ५० वर्षदेखि २५० मिटर गहिराइको भूगर्भीय पानीको मात्रा स्थिर छ,” उनले भने, “भारतले सो तहको पानी उपयोग गर्दै आएको छ, तर नेपालले अझै त्यसतर्फ ध्यान दिन सकेको छैन। अब सिँचाइ र खानेपानीका लागि यही गहिराइबाट पानी निकाल्नुपर्छ।”

पौडेलका अनुसार २०० मिटरसम्मको गहिराइमा रहेको जलस्रोतलाई ‘स्यालो वाटर एक्विफर’ भनिन्छ भने २५० मिटरभन्दा गहिरो स्रोत ‘डिप वाटर एक्विफर’ मा पर्छ। उनले डिप बोरिङको लागत उच्च भए पनि यसको दीर्घकालीन प्रभावकारिता बढी हुने तर्क गरे।

चुरे क्षेत्रको संरक्षण, पुनर्भरण प्रणालीको आवश्यकता

अध्यक्ष पौडेलले भूगर्भीय पानीको अभावको मुख्य कारण वर्षामा जमिनमुनि पुनर्भरण नहुनु रहेको बताए। “चुरे क्षेत्रमा पोखरी, ससाना गल्छी र खहरे खोलाहरूबाट पानी रोक्ने संरचना निर्माण अत्यावश्यक भइसकेको छ,” उनले जोड दिए।

उनले सहरी क्षेत्रमा पनि घर वरिपरि वर्षा पानी सोस्ने संरचना बनाइनुपर्नेमा जोड दिँदै नक्सा पास गर्दा यस्ता संरचनालाई अनिवार्य गरिनुपर्ने धारणा राखे।

“अहिले अकाशे पानी सोझै ढल हुँदै नदीमा बग्छ, जसले पुनर्भरण रोकिएको छ,” पौडेलले भने, “हामीले घरमैदेखि पानी सोस्ने वातावरण बनाउनु पर्छ।”

स्थानीय सरकारको प्रयास र सरोकारवालाको सहकार्य

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले तत्काल पानी संकट समाधानका लागि ट्याङ्करमार्फत आपूर्ति भइरहेको र दीर्घकालीन समाधानतर्फ महानगर केन्द्रित रहेको बताए।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वृक्षरोपणलाई प्राथमिकता दिइएको उल्लेख गर्दै “खाली ठाउँमा नियमित वृक्षरोपणले वातावरण सुधारमा योगदान पुर्‍याउने विश्वास लिएका छौं,” भने।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ