रौतहट, ६ साउन — रौतहट जिल्लाको कटहरिया नगरपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकहरूको लापरवाही र आधारभूत स्वास्थ्य सेवा अभावका कारण तीनजनाको मृत्यु भएको भन्दै स्थानीयबासी आक्रोशित बनेका छन्। पीडित परिवार र स्थानीयले मंगलबार स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। डाक्टरले नर्मल डेलिभरी गराए पनि नवजात शिशु नरोएको कारण शिशुको श्वासप्रश्वास नली काटेर झाँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो। तर क्लिनिक पुग्नुअघि नै शिशुको मृत्यु भएको परिवारले बताएको छ।
दोस्रो घटना सोमबार साँझ घटेको हो। कटहरिया–३ बडेर्वाका मनोज साहकी गर्भवती छोरी पुनमलाई व्यथा लागेपछि स्वास्थ्य केन्द्र ल्याइएको थियो। तर डाक्टरले भिडियो एक्सरे गर्दै अझै १० दिन बाँकी रहेको भन्दै औषधि दिइ घर पठाएका थिए। व्यथा बढेपछि पुनः शिवनगरस्थित एक निजी क्लिनिक लैजाँदै गर्दा बाटोमै पुनमले नर्मल डेलिभरी गरिन्। तर नवजात शिशुको अवस्था जटिल भएपछि बिरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको पीडित मनोज साहले बताएका छन्।
तेस्रो घटना गत शनिबार रातिको हो। आत्महत्याको प्रयास गरेका स्थानीय पत्रकार रविन्द्र प्रजापतीलाई तत्काल उपचारका लागि सोही स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो। तर केन्द्रमा अक्सिजनको सुविधा नभएकाले समयमा उपचार नपाई उनको पनि मृत्यु भएको परिवारले बताएको छ।
तीनवटा मृत्यु घटनाले क्षेत्रवासीहरू आक्रोशित बनेका छन्। उनीहरूले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, ग्लब्ससहित आधारभूत उपकरणहरूको समेत अभाव रहेको आरोप लगाएका छन्। साथै, डाक्टरहरू समयमै उपस्थित नहुने गुनासोसमेत स्थानीयले गरेका छन्।
आक्रोशित स्थानीयहरूले दोषी चिकित्सक र कर्मचारीविरुद्ध कडा कारवाही, स्वास्थ्य केन्द्रमा आवश्यक औषधि तथा उपकरणहरूको आपूर्ति र नगरपालिकाबाट प्रभावकारी सेवा सुनिश्चित गर्न माग गरेका छन्। तालाबन्दी गर्दै स्थानीयले प्रहरी र प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्।
स्थानीयको आरोप अनुसार, कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालको लापरवाहीकै कारण स्वास्थ्य केन्द्रको अवस्था दयनिय बनेको हो।
यसबीच, स्वास्थ्य केन्द्र र नगरपालिकाको तालाबन्दी खुलाउने प्रयासस्वरूप इलाका प्रहरी कार्यालय कटहरियाको प्राङ्गणमा नगर स्वास्थ्य संयोजक डाक्टर र स्थानीय प्रतिनिधिहरूबीच छलफल जारी रहेको कार्यपालिका सदस्य मनोज कुमार जैसवालले जानकारी दिए।





