सत्ता जोगाउन दुई मधेशी दल मधेस आन्दोलनको चीरहरण हुँदा मौन बसे


जनकपुरधाम
सत्ता प्राप्तिको मोह यति गहिरो भएको छ कि आजको मधेशमा दुई प्रमुख मधेशी दलहरू मधेस आन्दोलनको चीरहरण भइरहँदा समेत मौन बसिरहेका छन्। महाभारतमा द्रौपदीको चीरहरणका बेला शक्तिशाली योद्धाहरू मौन बसेको प्रसंग पढ्न पाइन्छ, ठीक त्यस्तै मौनता आज मधेश प्रदेशको राजनीतिक रंगमञ्चमा देखिएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा चार जना संशोधन कर्ताहरूले मधेस आन्दोलन र जनयुद्धका शब्दहरू समावेश गर्न आग्रह गरे। तर, प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ‘मधेस’ शब्द थप्न मान्नुभएन।

झन् विडम्बना त तब भयो जब मधेस आन्दोलनका क्रममा हत्या अभियोगमा जन्मकैदको सजाय पाएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा र उनको दलले समेत यो अपमानको विरोधमा केही बोलेनन्। उनीहरू सत्ता र कुर्सीकै लागि सत्ता पक्षको बेञ्चमा बस्दै रमिता हेरिरहेका थिए।

नीति कार्यक्रममा “संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलन, पहिचान, समावेशी, समतामूलक समाज र अधिकार प्राप्तिका लागि उत्सर्ग भएका सम्पूर्ण अज्ञात वीर शहीदप्रति श्रद्धाञ्जली” व्यक्त गरिएको छ। तर, त्यसमा ‘मधेस’ र ‘जनयुद्ध’ शब्द हटाइनु र सत्ताधारी मधेशी दलहरूको मौनता सिंगो आन्दोलन र शहिदहरूको अपमान साबित भएको छ।

सत्तामा पुग्न ‘मधेस’ शब्दलाई माध्यम बनाउने दलहरूका लागि अब त्यो शब्द स्वयं अभिशाप जस्तै देखिन थालेको छ। आन्दोलनको सहारा लिएर सत्तामा पुगेका नेताहरू आज त्यही आन्दोलनलाई बिर्सिएर कुर्सीको मोहमा चुप लागेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर