स्पा व्यवसाय : बढ्दै सेवाग्राही, विस्तार हुँदै लगानी

काठमाडौँ
एक्काइस दिन लामो ‘थ्री पासेस ट्रेक’ पूरा गरिसक्दा फ्रान्सेली पर्यटक नातालीको शरीर गलिसकेको थियो । ‘हाइ अल्टिच्युड’को हिँडाइले शरीर र खुट्टा थाकिसकेका थिए । थाकेको शरीरका लागि औषधि थियो– स्पा ।
“लामो पदयात्राले क्रममा शरीर गलेको थियो, मानसिक रूपमा पनि कमजोर बनाएको थियो, काठमाडौँ फर्किएपछि जेन स्पाको मसाजले फ्रेस भएँ, यहाँको सेवा निकै राम्रो लाग्यो”, उनले भने ।
उनमात्र होइन, हङ्कङकी पउल नेपाल आउँदा स्पाको सुविधा नलिइ फर्कनुहुन्न । उहाँ पदयात्राका लागि पटक–पटक नेपाल आइसक्नुभएको छ । “पदयात्रापछि स्पा नगरी शरीरले मान्दैन, यो शरीरका लागि औषधिजस्तै हो, मलाई यहाँको सुविधा निकै राम्रो लाग्छ”, उनले भने ।
बोलीचालीको भाषामा पानीबाट गरिने उपचार पद्धत्तिलाई स्पा भनिन्छ । यो परापूर्वकालदेखि नै चलिआएको प्राकृतिक उपचार विधि हो । स्पाले शरीरमा सकारात्मक ऊर्जा उत्पन्न गर्छ र तनाव तत्काल कम गरिदिन्छ । स्पाले रक्तसञ्चार बढाउन र प्रतिरोधात्मक शक्ति बढाउन पनि सहयोग गर्छ । यसले शारीरिक र मानसिक थकान कम गराउँछ भने खानामा रुचि पनि जगाउँछ । जोर्नी दुखेको, अनिद्राको समस्या समाधान गर्दै स्नायु प्रणालीलाई पुनः ताजा बनाउन पनि यसले सहयोग गर्ने जानकार बताउँछन् ।
पछिल्लो समय स्पाको सेवा लिनेमा नेपालीहरू पनि बढ्दै गएका छन् । जेन स्पाका सञ्चालक तथा अकुपञ्चरिष्ट रामदेव महतोका अनुसार पछिल्लो समय यो सेवा लिने नेपालीहरुको सख्या उल्लेख्य रूपमा बढेको छ ।
“केही वर्ष अघिसम्म पनि स्पाको सुविधा विदेशीले मात्र लिन्छन् भन्ने थियो, नेपालीहरू कमै आउथे, त्यो समयमा यसप्रति नकारात्मक धारणा हाबी थियो”, उनले भने, “तर अहिले सोच परिवर्तन भएको छ, स्पाको सुविधा लिनेहरू सचेत बन्दै गएका छन्, व्यवसायीहरूमा पनि परिवर्तन आएको छ ।” उनका अनुसार अहिले सबैजसो स्पामा नेपालीहरूको भीड देख्न सकिन्छ ।
शरीरलाई आराम दिन, तनावमुक्त हुन तथा रक्तसञ्चार प्रणालीलाई राम्रो बनाउने उद्देश्यले आउनेहरु धेरै छन् । “शरीरमा ऊर्जा भर्न मात्रै होइन, आत्मबल बढाउन पनि स्पाका सुविधाले ठूलो सहयोग गर्छ, एकपटक यो सेवा लिनेहरु फर्किएर आउने गरेका छन ”, महतोले भने । उनका अनुसार पछिल्लो समय पर्यटकको बसाइ लम्ब्याउन र उनीहरुले गर्ने खर्च बढाउनमा पनि स्पा व्यवसायले योगदान गरेको छ ।
अहिले व्यवसायीहरुले पनि परिवारका लागि पनि प्याकेज बिक्री गर्न थालेपछि यसप्रतिको दृष्टिकोण पनि बदलेको छ । स्पा सङ्घ नेपालका सचिवसमेत रहनुभएका रामदेव महतो स्पा थकान, धपेडीपूर्ण दिनचर्यालाई तनावरहित, सुखद् र आनन्ददायक बनाउनका लागि उत्तम माध्यम भएको बताउछन ।
महतोले विदेशमा सिकेको ज्ञानलाई नेपालमै लगानी गरी स्पा व्यवसायलाई विस्तार गरिरहेका व्यवसायीमध्येमा पर्छन् । सन् २००७ मा फिलिपिन्सबाट तालिम लिएपछि स्पा व्यवसायको यात्रा तय गर्नुभएका महतोले अबुधाबीमा झन्डै १२ वर्ष यसै क्षेत्रमा काम गर्नुभएको थियो । हाल उनले जेन स्पाका विभिन्न आउटलेटमार्फत व्यवसाय अगाडि बढाएका छन ।
ठमेलमै रहेको रियल थेरापी एण्ड ब्यूटी प्वाइन्टका सञ्चालन भबी शर्माले नेपालमा आउने विदेशी पर्यटक अधिकांशले स्पामा खर्च गर्ने बताउछन । “स्पा वेलनेस टुरिजमको एउटा महत्त्वपूर्ण प्याकेज हो, जुन पर्यटकको नछुट्ने सूचीमा हुन्छ, अझ पदयात्रामा जानेहरूका लागि त यो प्याकेजमै हुन्छ”, उनले भने ।
उनका अनुसार पछिल्लो समय ट्राभल एजेन्सीहरूले ट्राभल प्याकेजमै स्पालाई समेट्ने गरेका छन् । “केही वर्षयता यस व्यवसायमा लगानी मात्र बढेको छैन, यसले हजारौँलाई रोजगारी पनि दिएको छ, पछिल्लो समय मर्यादित व्यवसाय गर्नेहरु बढ्दै जाँदा नेपालीको पनि रोजाइमा परेको छ”, उनले भने ।ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका शर्माले नेपालको पर्यटन प्रवद्र्धनमा स्पाले पनि महत्त्वपूर्ण भूमिका खेलेको बताउछन । पर्यटक मात्र होइन, अधिकांश बिरामीका लागि पनि चिकित्सकले स्पामा जान सुझावसमेत दिने गरेको उनको भनाइ छ ।
“टाउको दुख्ने, ढाडको समस्या, एलर्जी भएकाहरुलाई स्पा उपयुक्त थलो हो भन्न लाग्छ, त्यसबाहेक शरीरमा स्फुर्ति ल्याउन र आत्मविश्वास बढाउन पनि यसले सहयोग गर्ने पुष्टि भइसकेको छ”, उनले भने । उनका अनुसार अहिले होटलमा स्पाको सुविधा अनिवार्यजस्तै बनेको छ भने स्पा सुविधा दिनेहरू मात्रै पनि बढेका छन् ।
व्यवसायीहरूका अनुसार भारत र चीनका साथै एसियाली, युरोपियन, अमेरिकी मुलुकका पर्यटक अधिकांशले स्पाको सुविधा लिनेमा पर्छन् । स्पा सेन्टरमा स्टिम, साउना र ज्याकुजीका साथै आयुर्वेदिक मसाज थेरापी, हाइड्रोथेरापी, फेसियल, एक्युपन्चरलगायत सुविधा उपलब्ध हुन्छ । पछिल्लो समय स्पा सेन्टरहरूले योग र ध्यानलाई पनि समावेश गरेका छन् ।
नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष सुरेश पुरीले स्पा र वेलनेस पर्यटन अहिले तीव्र रूपमा बढिरहेको र यो विदेशीको प्रमुख रोजाइमा पर्ने गरेको बताउछन । “स्पा यस्तो व्यवसाय हो, जसले विश्राम, उपचार, मानसिक स्वास्थ्य, र समग्र जीवनशैलीमा सुधार ल्याउने अनुभव दिन्छ”, ट्रयाङ्कुलिटी स्पाका कार्यकारी निर्देशकसमेत रहनुभएका पुरीले भने, “यो अब केवल विलासितामा सीमित छैन, सामान्य जीवनशैलीमा पनि आवश्यकता बनेको छ ।”उनले स्पालाई व्यावसायिक, मर्यादित र अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्योगका रूपमा विकास गर्न सङ्घले निरन्तर काम गरिरहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि वेलनेस व्यवसायलाई प्राथमिकता दिँदै अन्तरराष्ट्रिय मापदण्डअनुरुपको व्यवसाय सञ्चालनका लागि नीतिगत रूपमा सहजीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।
उनका अनुसार पछिल्लो समय स्पा व्यवसायमा लगानी पनि बढेको छ । “सामान्यतयाः एउटा स्पामा सामान्यतयाः दुई करोडदेखि १० करोड रुपैया सम्म लगानी हुन्छ, यसरी हेर्दा हालसम्म यस क्षेत्रमा एक अर्ब रुपैया भन्दा बढी लगानी भइसकेको छ भने १० हजारभन्दा बढीले रोजगारी पाएका छन् ।”

प्रतिक्रिया
सम्बन्धित खवर