काठेखोलाका किसानलाई अनुदानमा यान्त्रिक हलो


बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाले दलित किसानलाई प्रविधिसँग जोड्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरेको छ । यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिक र कृषि पेसातर्फ उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो ।
पछिल्लो समय गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग र आवश्यकतालाई मध्यनजर गरी यान्त्रिक हलो भएकाले वितरण गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको अध्यक्ष थापाको भनाइ छ । एक हल गोरुले एक दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उनले बताए । हलो पाएसँगै किसानलाई खेत जोत्न सहज हुने र समयको बचत हुने थापा बताउछन । गाउँपालिकाले प्रति हलो रु ४३ हजारमा खरिद गरी किसानलाई रु २१ हजार ५०० मा वितरण गरेको उनको भनाइ छ ।
“अचेल पहिलाको जस्तो गाउँमा हल गोरु पाल्ने चलन हराउँदै गयो, गोरुले जोत्ने जनशक्ति पनि पाइन छोडेपछि हामीहरुले खेतीयोग्य जमिनलाई बाँझो राख्नुहुँदैन भन्ने हिसाबले किसानलाई यान्त्रिक हलो वितरण गरेका हौँ” अध्यक्ष थापाले भने– “यसभन्दा अगाडि पनि किसानलाई यान्त्रिक हलो वितरण गरेका थियौँ, यसवर्ष दलित समुदायका किसानलाई प्राथमिकता दिएर हलो वितरण गरेका हौँ ।”
काठेखोलामा बसाइँसराइले गर्दा धेरै जग्गा जमिन बाँझो बन्दै गएका छन् । गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्नका लागि अन्य अनुदान पनि दिँदै आएको छ । काठेखोला गाउँपालिका–८ लेखानीका किसान धनबहादुर विश्वकर्माले अहिलेसम्म गोरुलेनै जोतेर खेतीपाती गर्दै आएको भन्दै अब यान्त्रिकरणमार्फत खेती गर्ने बताए ।
विश्वकर्माले भने,“गाउँमा धेरैले मिनिटेलर हलोले जोत्न थालेको धेरै वर्ष भयो, मैले गोरुलेनै जोत्दै आएको थिएँ, पहिले एउटै परिवारले पाँच÷छ हलसम्म गोरु पाल्ने गर्थे तर अहिले गाउँभरीमा दुई हल गोरु पाउन पनि मुस्किल छ, सबैले आधुनिक हलोले छिटो जोत्छ भन्छन्, मैले किन्न सकेको थिइन, अहिले गाउँपालिकाले सस्तो मूल्यमा हलो दियो, निकै खुसी लागेको छ, यो हलोले हामी जस्ता गरिब किसानलाई फाइदा हुनेछ, उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा लिएको छु ।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *