
सभामुख देवराज घिमिरेले महिलाले राजनीतिक अधिकार प्राप्त गरे पनि सामाजिक र सांस्कृतिक विभेद कायमै रहेको बताएका छन् ।
शनिबार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले महिलामाथि सामाजिक र सांस्कृतिक विभेद अन्त्य गर्नुपर्ने बताएका हुन् । उनले पितृसत्तात्मक सोच, लैंगिक भेदभाव, महिला हिंसा र सम्पत्तिमा समान पहुँचको अभावजस्ता समस्या विद्यमान रहेको बताए ।
सन्देशमा उनले भनेका छन्, ‘अधिकार कानुनमा मात्र सीमित नहोस्, व्यवहारमा पनि समान अवसरको प्रत्याभूति होस् भन्ने हाम्रो साझा लक्ष्य हुनुपर्छ ।’ उनले महिला आन्दोलनको ऐतिहासिक योगदानलाई सम्मान गर्दै समतामूलक समाज निर्माणका लागि आह्वान गरे ।
‘नेपालको महिला आन्दोलनले एक शताब्दीभन्दा लामो संघर्षपछि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ, महिलाले राज्यका विभिन्न तहमा आफ्नो उपस्थिति स्थापित गरेका छन्, महिलाको विद्रोह र संगठित प्रयत्नकै कारण राजनीतिक दलले महिला अधिकारका सवाललाई आफ्नो एजेन्डाका रूपमा स्वीकार गरेका छन्,’ उनले भनेका छन् ।
नेपालको संविधान र कानुनले महिलाका हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्थाअनुसार संघीय, प्रदेश र स्थानीय तहमा महिला प्रतिनिधित्वको व्यवस्थासमेत गरिएको बताएका छन् ।