मधेशी एकता समाज , यूएई द्वारा दुबईमा भव्य होली मिलन समारोह सम्पन्न (फोटो फिचर)

 

दुबई, यूएई – मधेशी एकता समाज यूएईले आइतबार दुबईको बरदुबईस्थित क्लब SK7 मा भव्य होली मिलन तथा सांस्कृतिक समारोहको आयोजना गर्यो। समारोहमा ७०० भन्दा बढी मधेशी समुदायका सदस्यहरूको उपस्थिति थियो।
समाजका यूएई अध्यक्ष रोशन मार्क्सिस्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा थिए। कार्यक्रममा आबुधाबीस्थित नेपाली दूतावासका राजदूत तेज बहादुर क्षेत्री, मधेशी एकता समाजका संस्थापक तथा अन्तर्राष्ट्रिय अध्यक्ष डा. रबिन्द्र कुमार यादव, दूतावासका तृतीय सचिव बिमलेश मिश्र, श्रम सहचारी पंकज लावकर्ण, मधेशी एकता समाज नेपालका संयोजक डा. बबी सिंह यादव, अन्तर्राष्ट्रिय समितिका महासचिव मुकेश झा, एनआरएनए यूएईका महासचिव भुवन कुमार वाग्ले, नेपाल जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटा, कायकल्प टिभी/च्यानलका कृष्ण कुमार दुलाल, नेपाल विश्वकर्मा समाजका अध्यक्ष गगन बीके, कोच राजवंशी प्रवासी समाजका शोभा राजवंशी र सावित्री राजवंशी लगायतको उपस्थिति थियो।
महासचिव सुरेश यादव र सह-अध्यक्ष/प्रवक्ता शैलेन्द्र रायले उद्घाटन समारोहको संचालन गरे भने सांस्कृतिक कार्यक्रमको संचालन भोला पासवान र मनोज परदेशीले गरे। कार्यक्रममा स्वागत मन्तव्य यूएईमा नर्सको रूपमा कार्यरत चर्चित टिकटक स्टार सुगम शर्माले राखेकी थिइन्।
समारोहमा सांस्कृतिक नाचगान, होली गीत, जोगिरा गायन र विभिन्न परिकारको व्यवस्था गरिएको थियो। नेपालबाट आएका चर्चित कलाकार रविराज साह र शोभा पासवानले आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जित तुल्याए। स्थानीय कलाकार भोला पासवान, ईशा, अनाया, भिरु यादव, स्लोन्ली एन्जल र नेपाली बोइज ग्रुपले पनि आकर्षक प्रस्तुति दिए।
उद्घाटन सत्रमा उपेन्द्र यादव, तेज बहादुर क्षेत्री र डा. रबिन्द्र कुमार यादवले आफ्नो मन्तव्य राखे। डा. यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक फोरममा आफ्नो सहभागिता, काठमाडौंमा मधेशका सबै दलबीच मधेशको विषयमा अन्तरक्रिया, समाजको जापान, युरोपियन युनियन र अमेरिका लगायतका देशहरूमा विस्तार, मधेशमा शिक्षाको स्तर उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई सीपमूलक तालिम दिई विप्रेषणको गुणस्तर कायम गर्ने जस्ता कार्यमा मधेशी एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको बताए। श्रमिकहरूलाई विदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका शहीद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने जस्ता कार्यमा समेत संस्था क्रियाशील रहेको उनले जानकारी दिए।
समारोहमा यूएईमा भूउपग्रहको सफ्टवेयर डिजाइन गर्ने मुकेश झा, मिसाइल डिजाइनमा कार्यरत इन्जिनियर दीपक कुमार यादव, दुबईमा कारखाना स्थापना गर्ने पहिलो मधेशी विनेश यादव र अन्य मधेशी उद्यमीहरू गणेश पूर्वे र जीवछ साहलाई सम्मान गरिएको थियो।
नेपालमा होली मार्च १४ मा भए पनि रमजानको पवित्र महिना फेब्रुअरी २८ देखि मार्च ३० सम्म चल्ने भएकाले दुबईमा होली समारोह रमजान अगावै फेब्रुअरी २३ तारिखमा आयोजना गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर