अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टिम नेपालले कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

सोमबारदेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१९ पछि नेपालले कीर्गिस्तानसँग पहिलोपटक खेल्न लागेको हो ।

नेपालले कीर्गिस्तानविरूद्ध सन् २०१९ मा कीर्गिस्तानमा भएको नाजेज्दा कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपालले कीर्गिस्तानलाई घरेलु मैदानमै ८-२ गोलअन्तरले हराएको थियो ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले च्याम्पियनसिपका लागि आफ्नो टिम तयार भएको र जित निकाल्न खेल्ने बताएका छन् । प्रशिक्षक तामाङले पहिलो खेलको प्रतिद्वन्द्वी कीर्गिस्तान अहिले बलियो रहे पनि निश्चित योजना बनाएर मैदानमा जित निकाल्न उत्रिने बताए । कीर्गिस्तानविरुद्धको पहिलो खेलमा जित निकाल्न सचेत रहेर खेल्ने प्रशिक्षक तामाङको भनाइ छ ।

नेपाली महिला टिमकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले मैदानमा राम्रो खेलेर आफूलाई प्रमाणित गर्ने बताइन् । राम्रो टिमवर्क र तयारी भएकाले पहिलो खेलमा जित निकाल्ने आशा उनको छ । कप्तान सुब्बाले यसअघिका गल्तीलाई सुधार गरेर मैदानमा उत्रिने बताइन् ।

एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारी स्वरूप एन्फाले चार देशीय च्याम्पियनसिपको आयोजना गरेको हो । चार देशीय च्याम्पियनसिपमा नेपालसँगै  म्यानमार, कीर्गिस्तान र लेबनान सहभागी छन् ।

उद्‌घाटन खेल भने दिउँसो २ बजे सुरु हुनेछ । उद्‌घाटन खेलमा लेबनान र म्यानमार आमनेसामने हुनेछन् । नेपालले ८ फागुनमा लेबनान र ११ फागुनमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर