
माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने भएपछि फाँटाका किसानले बगरमा प्याजखेती गर्न लागेको बताएका छन् । तीन वर्षदेखि बगरमा प्याजखेती गर्दै आएका स्थानीय सहीबहादुर चौधरीले यस वर्ष ८६ किलो प्याजको बीउ लगाएको बताए ।
‘गत वर्ष २० किलो प्याजको बेर्ना लगाएर तीन क्विन्टल प्याज उत्पादन भयो’, चौधरीले भने, ‘गत वर्ष बेर्ना राम्रो भएन, पहिलोपटक १३ किलो बेर्ना लगाएर पाँच क्विन्टल उत्पादन भएको थियो । ‘यसवर्ष अढाइ कठ्ठामा खेती गरेको उनको भनाइ छ । ‘सुरुमा हामी एक दुई जनाले खेती गर्थ्यौं, अहिले पूरै गाउँ प्याज खेतीमा लागेको छ’,चौधरीले भने, ‘सुरु सुरुमा साँझ बिहान सिँचाइ गर्नुपर्छ, हुर्केपछि धेरै मिहिनेत गर्नुपर्दैन ।’
विगतमा भारतीय व्यापारीले त्यहाँ लौका र खर्बुजा खेती गर्ने गरेका थिए । स्थानीयले प्याजखेती गर्दा जग्गा खाली नभएपछि भारतीय किसान आउन छाडेको स्थानीयको भनाइ छ । गत वर्ष ६ किलो बेर्ना लगाएर डेढ क्विन्टल बढी प्याज उत्पादन गरेको रामदुलारी चौधरीले बताए । ‘पोहोरसाल ६ किलो प्याजको बेर्ना लगाएको थिए, यसवर्ष १६ किलो बेर्ना लगाएका छौँ’, रामदुलारीले भने, ‘पोहरसाल एक क्विन्टल २० किलो बिक्री गरेको थिए, बाँकी आफन्तलाई दियौँं र घरमा खायौँ ।’
‘बालुवामा प्याज ठूला ठूला दाना लाग्छन्, ५-६ दाना हालेपछि एक किलो पुग्छ’, रामदुलारीले भने, ‘पानी बढी चाहिन्छ, पानी नदीमा भएका कारण समस्या छैन ।’ प्याजखेती गर्दा किसानले गोबर मलसहित जिन्क, पोटास र युरिया प्रयोग गर्ने गरेको बताउँछन् । बालुवामा सिँचाइ गरे पनि सुक्ने भएकाले सुरुका दिनमा दैनिक तीनपटक सिँचाइ गर्नुपरेको किसानको भनाइ छ ।
बालुवामा प्याज उत्पादन बढी हुन्छ भनेर यस पटकबाट बगरमा प्याजखेती सुरु गरेको टीकापुर–८, वनगाउँका किसान हिक्मत ठकुल्लाले बताए । ठकुल्लाले पहिलोपटक १६ किलो बेर्ना लगाएको बताउँदै पहिलोपटक अनुभव लिन लागेको बताए । ‘फाँटा गाउँका किसानले लगाएको देख्दा मैले पनि खेती गरेको छु, सिँचाइ बढी गर्नुपर्ने रहेछ’, ठकुल्लाले भने, ‘मसँग त अरु खेत पनि छ तर बगरमा राम्रो फल्छ भनेर यतातिर लागेको हुँ ।’