
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानबिन्दु भएको बताएका छन् ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए । उनले लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने बताए ।
उनले दुई तिहाईको सरकारलाई अध्यादेशको जरुरी नरहेको बताए । नेपाली कांग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति नै आफू भएपनि दुई ठूला दलको सरकार हुँदा निरंकुशताको डर हुने बताए । उनले गलतलाई गलत भन्ने आँट नभए नेपाली कांग्रेसको औचित्य सकिने बताए ।
उनले भने,‘अहिले के भइरहेको छ भने अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली काँग्रेसको । डेमोक्रेसीमा भरसक हामीले संसदबाटै नियम, कानून, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ । हामीले संसदलाई छलेर जान खोज्यौँ भने काम लाग्दैन । दुई तिहाई बहुमत छ, छल्नुपर्ने जरुरत नै छैन । के को छल्ने । अपर हाउसमा नपुगेको हो नि त अहिले छ । अपर हाउसका सांसदहरुसँग कुरा गरेर मिलाइसक्नु हुन्थ्यो । त्यो क्षमता भएको व्यक्ति गिरिजाप्रसाद कोईराला हुनुहुन्थ्यो । अध्यादेशबाट देश चल्ने भनेको निरंकुशताको प्रस्थानबिन्दु हो । हुनतः नेपाली काँग्रेस र एमालेको सरकार बन्नुपर्छ भनेर भन्ने पहिलो व्यक्ति मै हो । ओलीजीसँग दुई चार राउण्ड कुरा गरिसकेको थिएँ, त्यसपछि भनेको हो ।’
नेता कोइरालाले अध्यादेश सरकार चल्नै नसक्ने अवस्था भए मात्रै ल्याउनुपर्ने बताए । भूमि सम्बन्धी अध्यादेश जस्ताको त्यस्तै पास भए केही गर्न नसकिने बताए ।