प्रदेश सभाको सात वर्ष पुरा ,सात वर्षमा ३२२ बैठक

जनकपुरधाम
मधेस प्रदेशसभाले आज ७ वर्ष पूरा गरेको छ । सात वर्षअघि आजकै दिन मधेस प्रदेशसभाको पहिलो बैठक बसेको थियो । पहिलो बैठक बसेको दिनको स्मरणमा मधेस प्रदेशसभाले प्रत्येक वर्ष विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको छ । प्रदेश सभाले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको प्रमुख आतिथ्यमा १ बजे देखि वार्षिकोत्सवको आयोजना गरेको छ । मधेस प्रदेशसभाको सात वर्षको अवधिमा कुल ३२२ वटा बैठक मात्र बसेको छ । सात वर्षमा २ हजार ५५५ दिन भएकोमा ३ सय २२ दिन मात्र बैठक चलेको हो । यस हिसाबले प्रदेशसभाको बैठक औषतमा प्रत्येक ८ दिनमा एक पटक बस्ने गरेको छ ।
मधेस प्रदेशसभाको सचिवालयका अनुसार यस सात वर्षको अवधिमा प्रदेशसभामा ४ सय ६८ घण्टा २५ मिनेट बैठक चलेको हो । प्रदेशसभामा कुल ३ सय २२ वटा बैठक बसेकाले औषतमा डेढ घण्टाभन्दा पनि कम बैठक बस्ने गरेको हो । प्रदेशसभाका प्रवक्ता विपिन ठाकुरका अनुसार प्रदेशसभाको पहिलो ५ वर्षमा ९ वटा अधिवेशनमा २२६ वटा बैठक बस्दा कुल ३ सय ११ घण्टा १५ मिनेट बैठक चलेको थियो ।
यस्तै, प्रदेशसभाको दोस्रो कार्यकालमा चारवटा अधिवेशनमा ९६ वटा बैठक बस्दा प्रदेशसभा १ सय ५७ घण्टा १० मिनेट सञ्चालन भएको हो ।
प्रदेश सभाको पहिलो कार्यकालमा ५५ वटा विधेयक पारित भएर ऐन बन्दा दोस्रो कार्यकालमा संशोधनसहितका १६ वटा विधेयक दर्ता हुँदा १२ वटा पारित भएको प्रवक्ता ठाकुरले बताए ।
यस्तै, दुई वटा विधेयक समितिमा विचाराधीन छ भने एउटामाथि सदनमा छलफल चलिरहेको छ । यस अवधिमा प्रदेशको कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल नहुँदै प्रदेश सरकारले फिर्ता लिएको छ ।
मधेस प्रदेशसभामा यस सात वर्षको अवधिमा मधेस सरकारले ८ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । यस सातवर्षको अवधिमा तीनजना मधेस प्रदेशको मुख्यमन्त्री बन्दा उनीहरूले ८ पटक प्रदेशसभामा विश्वासको मतको प्रस्तावको सामना गरेका छन् । पहिलो कार्यकालमा तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले दुई पटक विश्वासको मतको सामना गरेका थिए भने प्रदेशसभाको दोस्रो कार्यकालमा सरोजकुमार यादवले पाँच पटक र वर्तमान मुख्मयन्त्री सतिशकुमार सिंहले एक पटक विश्वासको मतको सामना गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर