
महोत्तरी, १७ माघः वसन्तपञ्चमी पर्व नजिकिँदै गर्दा महोत्तरीमा अहिले सरस्वतीका मूर्ति बनाउनेको व्यस्तता बढेको छ । आउने सोमबार मनाइने सरस्वती पूजनोत्सव पर्वका लागि बनिएका मूर्तिमा अहिले मूर्तिकार त्यसको निखार ल्याउनमा व्यस्त छन् ।
अबको चौथो दिन पर्व नै परेको हुँदा त्यसअघिका तीन दिनभित्र बनेका मूर्ति बेचिसक्नु पर्ने मूर्तिकारलाई समयसीमा छ । त्यसैले अहिले आउने आइतबारसम्म मूर्ति तयार हुनेगरी काममा लागिएको मूर्तिकार बताउँछन् । यसपालि माघ लागेर पनि राम्ररी घाम नलाग्दा माटो मुछेर बनाइएका मूर्ति सुक्न समय लागेको मूर्तिकारको भनाइ छ ।
“मूर्ति सुक्न समय लाग्यो, राम्ररी नसुकी रङ्रोगन हुँदैन”, मूर्ति आकर्षक बनाउन तल्लिन भङ्गाहा–४ का रामचन्द्र महरा भने, “अब रङ्गरोगनको काम थालिन्छ ।” पूजनोत्सवका लागि मूर्ति लैजानेहरुले दुई दिनअघिदेखि लान थाल्ने रामचन्द्र बताउछन ।
धानको पराल र काँस (कास प्रजातिको एक प्रकारको खर वनस्पति)को लुइँठो बटार्दै सरस्वती आकारमा ढालेर मुछेको माटोले लेपन गरी तयार गरिने मूर्ति घाममा राम्ररी सुकेपछि रङ्गरोगन लगाउन मिल्ने हुन्छ । यो काम मूर्तिकारले पर्वभन्दा केही साता पहिले थाले पनि यसपालि माघको दोस्रो सातासम्मै राम्ररी घाम नलाग्दा मूर्ति सुक्न समय निकै लागेको यहाँका सबैजसो मूर्तिकारको गुनासो छ । वसन्तपञ्चमी र श्रीपञ्चमीसमेत भनिने माघ शुक्ल पञ्चमीका दिन उल्लासका साथ सरस्वती पूजनोत्सव मनाइने मैथिल परम्परा छ ।
पर्वका अवसरमा मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा बस्तीबस्तीका शिक्षण संस्थाले उल्लासमय वातावरणमा सरस्वती पूजनोत्सव पर्व मनाउने परम्परा छ । शिक्षण संस्थामा मनाइने मुख्य साँस्कृतिक पर्वलाई विशेष बनाउन अहिले सबै अन्तिम तयारीमा जुटेका छन् । मिथिलामा स–साना नानीहरुको अक्षरारम्भ वसन्त पञ्चमीकै दिन गरिने हिन्दू मैथिल परम्पराले यो पर्व खास बन्दै आएको छ । शिक्षण संस्थाबाहेक कतिपय व्यक्तिले आफ्नै घरमा सरस्वती पूजनोत्सव अनुष्ठान गर्ने हुँदा यो बेला सरस्वतीका मूर्तिको माग निकै हुने गरेको छ ।