समाजवादी मोर्चाले काठमाडौँ र मधेसमा खबरदारीसभा गर्ने

काठमाडौँ, १६ माघ
समाजवादी मोर्चाले भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा आगामी चैत २४ गते राजधानीमा खबरदारीसभा गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले आगामी चैतको पहिलो साता तराई÷मधेसमा जनसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकले मोर्चाको विचार, नीति र उद्देश्यलाई आमनागरिक र राजनीतिक वृत्तमा पुर्‍याउनका लागि ‘समाजवादी मोर्चा’ प्रकाशन गर्ने निर्णय गरेको उनले जानकारी दिए । मोर्चाले आगामी फागुनको अन्तिम सातासम्म उक्त प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।
सातवटै प्रदेशमा समाजवादी आन्दोलनको आवश्यकता सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने निर्णय भएको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर