
बुटवल । सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट बुधवार धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा अर्को मुद्दा दायर गर्ने तयारी भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी विरुद्ध बिहीबार मुद्दा दर्ता गर्न लागिएको हो ।
प्रहरीले गत शुक्रवार नै लामिछाने समेतलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले मुद्दा दर्ताको अन्तिम तयारीमा पुगेको जानकारी दिए । उनले भने, ‘आज साँझसम्म मुद्दा दायर हुन्छ ।’उनले अनुसन्धान प्रतिवेदन अध्ययन भइरहेको बताउँदै केही प्राविधिक समस्या आएको खण्डमा चाहिँ शुक्रबार पनि हुनसक्ने बताए ।बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अनुसन्धान गरेर प्रहरीले लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित १४ जनाको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो ।
उक्त प्रकरणमा पुराना २८ र नयाँ १४ गरी ४२ जना विरुद्ध मुद्दा चलाउने राय दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजय पण्डितले बताए ।
जसमा केही व्यक्ति र कसुर पनि फरक फरक रहेकोले सोही विषयमा सरकारी वकिलको कार्यालयमा छलफल चलिहरेको छ । प्रहरीले सहकारी ठगी ,सङ्गठित अपराध र केही व्यक्तिविरुद्ध लागि सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ। जसमा रवि , छवि र जीवी राईको सम्पत्ति शुद्धीकरणको मुद्दा कास्कीबाट नै अघि बढ्नेछ । तर, सुप्रिम सहकारी सञ्चालक समेत रहेका दिनेश रोकाविरुद्ध रुपन्देहीमा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनु पर्ने राय दिइएको छ ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यस्तै पूर्वडीआइजी जोशी पनि सोही बेला रुपन्देही पुगेर बयान दिएका थिए ।
प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदनमा रविविरुद्ध व्यक्तिगत रूपमा गएको २ करोड र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
त्यस्तै जोशीविरुद्ध २ करोड ५० लाख व्यक्तिगत र मिडियाको सामूहिक १ करोड ७७ लाख ८८ हजार गरी ४ करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको स्रोतको भनाई छ ।
यस्तै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङविरुद्ध व्यक्तिगत २ करोड ८८ लाख १४ हजार र सामूहिक २ करोड ७ लाख ९४ हजार गरी ४ करोड ९६ लाख ८ हजार बिगो माग दाबी प्रहरी प्रतिवेदनमा गरिएको छ ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिम सरकारी ठगीसम्बन्धी मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यति बेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
अहिले पूरक अभियोजनमा रविसहित ४४ प्रतिवादी बनाइएको छ । यससँगै अब कुल बिगो कुल १ अर्ब १२ करोड रुपैयाँ पुग्ने स्रोतको भनाइ छ ।