![](https://jnkhabar.com/wp-content/uploads/2024/12/vlcsnap-2024-12-31-14h41m12s066.png)
जनकपुरधाम
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विकास निर्माणमा प्रदेश सरकारको गति कम भए पनि निराशाजनक नभएको बताएका छन ।
आजदेखि सुरू भएको मधेस प्रदेशको चौथो अधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले प्रदेशका ६४ निर्वाचन क्षेत्रका लागि पाँच किलोमिटर कालोपत्रे सडक तथा एक निर्वाचन क्षेत्रमा पुलको बोलपत्र आह्वान भएपछि सरकारको खर्चले गति लिने विश्वास व्यक्त गरे।
बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेश सरकारले विकास निर्माणमा गति दिन नसकेको गुनासो गरेपछि त्यसको जवाफमा मुख्यमन्त्री सिंहले विकासको काम खुला बोलपत्र प्रक्रियाबाट गर्नुपर्ने भएकाले गति कम देखिएको बताएका हुन।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले वर्तमान प्रदेश सरकारलाई काम गर्नमा अवरोध नगरेको बताए । कांग्रेसले काम गर्न नदिएको आरोपमा सत्यता नभएको उनले स्पष्ट पारे ।
पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले वर्तमान सरकारको सुस्त गतिका कारणले सङ्घीयताप्रति नै प्रश्न उठ्न लागेको टिप्पणी गरे ।
नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य शारदादेवी थापाले काममा ढिलाइ गर्दा पछि गएर पछुताउनुबाहेक अरू केही हासिल नहुने भएकाले विकास निर्माणको काममा गति दिन सुझाव दिइन ।
प्रदेशसभाको अर्को बैठक बुधबार बस्ने गरी स्थगित भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।