कास्की जिल्ला अदालतमा रवि लामिछानेको पक्षको बहस आजबाट सुरू, नयाँ तथ्य सार्वजनिक हुने अपेक्षा

कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित सात जनाविरुद्ध थुनछेक बहस जारी छ। लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन्।

आइतबार गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापाले अदालतमा बहस गरेका छन्। जोशीका कानुन व्यवसायीले सहकारी प्रकरणमा जोशीको कुनै संलग्नता नरहेको र सहकारीको जिम्मेवारी सञ्चालक समितिले मात्र लिनुपर्ने तर्क गरेका छन्। थापाले मुद्दा दायर गर्दा हद म्याद नाघेको र नयाँ तथ्य कुनै पनि बेला बाहिर नआएको दाबी गरे।

न्यायाधीश नीतिज राईको इजलासमा शुक्रबारदेखि थुनछेक बहस सुरु भएको हो। जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल, अधिवक्ता अपूर्व खतिवडा, र गणेशबहादुर भट्टराईले शुक्रबार बहस गरेका थिए। आइतबार शम्भू थापाले आफ्नो बहस पूरा गरे।

अदालतका श्रेस्तेदार राजन खनालका अनुसार जोशीको पक्षका कानुन व्यवसायीको बहस सकिएपछि लामिछानेका तर्फबाट कानुन व्यवसायीले बहस थाल्नेछन्। लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ, हरि सुवेदी, डा. नारायण घिमिरे लगायत अन्य कानुन व्यवसायीले बहस गर्ने तयारी गरेका छन्।

लामिछानेपछिका आरोपितहरू रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, र आरती गुरुङका कानुन व्यवसायीले पनि अदालतमा बहस गर्नेछन्।

यो प्रकरणमा सहकारीका सेयर सदस्य, सञ्चालक समिति, र रकम स्थानान्तरण सम्बन्धी विवाद मुख्य मुद्दा बनेको छ। अदालतको अन्तिम निर्णयले यो बहुचर्चित प्रकरणलाई नयाँ मोड दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर