दुई दिन लगाएर सकियो रविको बयान

पोखरा
पोखरा( सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत मुद्दाका प्रतिवादी पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलाससमक्ष बिहीबार र शुक्रबार लामिछानेको बयान भएको हो।
अदालतका स्रेस्तेदार राजन खनालले भने, ‘उहाँ (लामिछाने) को बयान सकियो। भर्खरै श्रीमान्को सहीछाप भयो।’ बयानपछि प्रतिवादी तथा न्यायाधीश दुवैले सहीछाप गर्नुपर्ने हुन्छ। खनालका अनुसार बिहीबार दिउँसो १ बजेदेखि सुरु भएको बयान शुक्रबार साँझ ५ बजेसम्म लागेको थियो।
स्रोतका अनुसार लामिछानेले अभियोगपत्रमा लगाइएका आरोपहरूको खण्डन गरेका छन्। कास्कीसहित विभिन्न जिल्लाका सरकारी वकिलसमक्ष प्रहरीले लिएको बयानमा समेत उनले आफूलाई राजनीतिक प्रतिशोध साँधिएको र सहकारी ठगीलगायतका क्रियाकलापमा संलग्न नभएको जिकिर गर्दै आएका छन्।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा गत २ कात्तिकमा पक्राउ परेका लामिछाने करिब ७० दिनयता कास्की प्रहरी हिरासतमा छन्। उनलाई सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दा लगाइएको छ।
अब हाल हिरासतमा रहेका बाँकी चार जनाको बयान हुनेछ। यसअघि गोर्खा मिडियाका पूर्व सञ्चालक पूर्व डीआईजी छविलाल जोशी र गुल्मी मुसिकोट नगरपालिका–४ की लीला पछाईंको बयान सकिइसकेको छ। प्रतिवादीहरू रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, पूर्व सांसद मीना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीका न्यायाधिवक्ता कमला काफ्लेका अनुसार आइतबारदेखि प्रतिवादी रामबहादुर खनालको बयान सुरु हुनेछ।कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सहकारी ठगी मुद्दा गत वर्षदेखि नै विचाराधीन छ। १८ असोज २०८० मा सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईसमेत १९ जनालाई प्रतिवादी बनाई मुद्दा दायर भएको थियो। कास्की प्रहरीको पछिल्लो अनुसन्धान प्रतिवेदनसँगै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सोही मूल मुद्दामा थप प्रतिवादी बनाई पूरक अभियोगपत्र दायर गरेको हो।
गत आइतबार दायर पूरक अभियोगपत्रमा रास्वपा सभापति लामिछाने, जोशीसमेत ४४ जनालाई प्रतिवादी बनाइएको छ। तीमध्ये ३१ जना व्यक्ति, ८ कम्पनी छन्। अन्य ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता गरिएको थियो।
कुल ६३ प्रतिवादीविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ ३ पैसा बिगो कायम गरेर दायर मुद्दामा हिरासतमा रहेका प्रतिवादीहरुको बयान लिन थालिएको हो। बयानपछि थुनछेक बहससँगै प्रतिवादीहरूलाई ३ मध्ये एक आदेश हुनेछ। पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी वा साधारण तारेखमा रिहामध्ये एक आदेश हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर