जनकपुरधाम- नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी पत्नी जुलिया फेनले जनकपुरधामस्थित जानकी मन्दिरमा आफ्नो २२ औँ वैवाहिक वर्षगाँठ मनाएका छन्।शनिबार बिहान जानकी मन्दिर परिसरमा नेपाली पोशाक लगाएर उनीहरूले वर्षगाँठ मनाएका हुन्। सो क्रममा स्वस्तिक वाचन गरिएको थियो।राजदूत फेनको वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलगायतको सहभागिता थियो।
शनिबार बिहान जानकी मन्दिर परिसरमा मनाइएको राजदूत दम्पतीको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचनसमेत गरिएको थियो ।
राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतीक रहेकाले आफूहरूले वैवाहिक वर्षगाँठ यही मनाएको बताए।यहाँ वर्षगाँठ मनाउँदा आफूलाई विवाह गरेको जस्तो अनुभुति भइरहेको उनकाे भनाइ छ। उनले आफूहरू अत्याधिक खुशी रहेको भन्दै ब्रिटिश नागरिकलाई जनकपुरधामको भ्रमण गर्न आग्रह समेत गरे।नेपाल सरकारले आर्थिक वर्ष २०८१।८२ बजेटमा जनकपुरधामलाई वैवाहिक गनतव्यको रुपमा विकास गर्ने नीति लिएको थियो भने मधेस प्रदेश सरकारले समेत जनकपुरधामलाई वैवाहिक हबको रुपमा विकास गर्ने नीति लिएको छ। मधेस प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री तिवारी मधेसमा हुने विवाहको प्रक्रिया विधिहरू उत्कृष्ट रहेको भन्दै यसलाई अगाडि बढाउनुपर्ने र यसका लागि सरकार लागि परेको बताइन्।