मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा हुने

जनकपुरधाम
मधेश प्रदेश सरकारले मधेश प्रदेशका ८ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा गर्ने भएको छ।
मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य विमा तथा ७ लाखको दुर्घटना विमा गर्ने भएको हो ।
एक कार्यक्रमको बिचमा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा गर्ने सम्बन्धि सम्झौतामा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीको रोहवरमा तथा राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरे र आम संचार प्रधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले गरेका छन ।

लेखीले मधेस प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रूपमा गरेर प्रमाणित गरेको बताए। उनले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रूपमा जानकार भएको बताए ।
पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रूपमा प्रदान गर्ने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेस प्रदेशका सबै सहिद परिवारलाई रू एक लाखको स्वास्थ्य बीमा निःशुल्क रूपमा गर्ने तयारी प्रदेश सरकारले गरेको उनले जानकारी दिए।
जनता समाजवादी पार्टीका मधेस प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारका रूपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाका लागि प्रदेश सरकारले चालेको कदमको सराहना गरे ।
आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा तीन वर्षदेखि निरन्तर रूपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको रू एक लाखको स्वास्थ्य तथा रू सात लाखको दुर्घटना बीमा गर्ने बताए । उनले यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भए पनि यसपटक सात सय ३५ पत्रकारहरूको महासङ्घ तथा मिडियाको सिफारिसमा बीमा गर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन साहले पत्रकारहरूको स्वास्थ्य तथा सुरक्षाका लागि प्रदेश सरकारले सुरू गरेको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने नीति स्वागतयोग्य भएको बताउँदै यसको निरन्तरतामा ध्यान दिनका लागि आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित खवर