नारायणी क्रिकेट मैदानको निरीक्षण

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
यही क्रिकेट मैदानबाट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरु खेलेका खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण अपरिहार्य रहेको मुख्यमन्त्री सिंहले बताए । क्रिकेट मैदानको निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘यो एउटा ऐतिहासिक खेल मैदान हो । यसकाे विकासका लागि हाम्रो प्रदेश सरकार गम्भीर छ । हामीले निरन्तर संघ सरकारका खेलकुद मन्त्रीलगायतसँग समन्वय र छलफल गररहेका छौँ ।’
संघ सरकारबाट पनि यस आर्थिक वर्षमा बजेट विनियोजन नभएकोमा दुःख व्यक्त गर्दै उनले सहयोग गर्ने दातृ निकाय तथा संघसंस्थासँग पनि खोजी र समन्वय भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारले पनि क्रिकेट खेल मैदानका लागि केही बजेट विनियोजन गरेको छ ।
नारायणी क्रिकेट मैदानको वर्षाैदेखि अल्झिएको मुआब्जाको विषयलाई पनि आफ्नै पालामा समाधान गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘आजै म काठमाडौं जाँदैछु, त्यसबेला पनि म खेलकुद मन्त्रीसँग भेटेरै मुआब्जाको फायल अर्थ मन्त्रालयमा पठाउनका लागि पहल गर्छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर