काठमाडौँ,
ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे राजीव गुरुङलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
आज बिहान सानोभ¥याङबाट पक्राउ परेका निजलाई अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा उक्त अदालतमा पेस गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सिआबी का प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए। उनले भने, “सर्वोच्च अदालतले यही कात्तिक २० गते मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै आज हाम्रो टोलीले निजलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यान्वयन गराउनका लागि जिल्ला अदालतमा पेस गरेका छौँ ।
ज्यान मार्ने उद्योगको कसुरमा गण्डकी प्रदेश सभा सदस्य मनाङे सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष कैद सजाय हुने फैसला भएको थियो । जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटनबाट दोषी ठहर उनी गत साता सर्वोच्चबाट पनि दोषी ठहर भएका थिए ।
दुई ग्याङस्टारबीचको झगडामा तरबार प्रहार गरेर ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङेविरुद्ध मुद्दा चलेको २० वर्षपछि गत मंगलबार न्यायालयले अन्तिम फैसला गरेको थियो ।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेविरुद्ध १२ वर्षअघि सुनाएको पाँच वर्ष कैद सजाय हुने फैसलालाई नै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सदर गरेको हो । यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण फैसलापछि मनाङेले बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ ।