भ्रातृ संगठनको दबाबमा आइ छात्रवृत्ति सम्बन्धी उपमहानगरले गरेको निर्णयबाट षड्यन्त्रको गन्ध :निजि विद्यालय

जनकपुरधाम निजी विद्यालयका सङ्गठनहरूले जनकपुरधाम उपमहानगरपालिका र नेपाल विद्यार्थी संघ (नेविसंघ) बीच कक्षा ११ र १२ का विद्यार्थीको छात्रवृत्ति सम्बन्धी सम्झौता षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन् ।
निजी विद्यालयका सङ्गठनहरू प्याब्सन, एनप्याब्सन तथा हिसानले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर कुनै पार्टीको भ्रातृ संगठनको दबाबमा आइ छात्रवृत्ति सम्बन्धी उपमहानगरले गरेको निर्णयबाट षड्यन्त्रको गन्ध आइरहेको आरोप लगाए ।

हिसानका धनुषा अध्यक्ष सञ्जीव ठाकुरले जनकपुरधामको शैक्षिक संस्था तथा शिक्षा स्तरलाई कमजोर पार्न उपमहानगर र नेविसंघ बीच भएको सम्झौता आफूहरूलाई मान्य नरहेको बताए । आफूहरू उपमहानगरको निर्णय मान्न तयार हुँदाहुँदै पनि उपमहानगरले आफूहरूसँग कुनै छलफल नै नगरी आफ्नै निर्णय पल्टाउनु आपत्तिजनक रहेको भन्दै ठाकुरले आक्रोश व्यक्त गरे ।
उनले भने ‘कक्षा ११ र १२ का विद्यार्थीहरू छात्रवृत्ति सम्बन्धमा शैक्षिक सत्र २०८१र०८२ मा उपमहानगरसंग छलफल गरेरै २०७४ को ऐनअनुसार नामाङ्कन शुल्क, मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्कहरू लिन सकिने र पछि अनुगमन गर्ने सहमति नै भए अनुसार मिति २०८१र०५र१४ गते उपमहानगरपालिकाले नामावलीसहित पत्राचार गरेको र सोही अनुसार गर्दै आएपनि नेपाल विद्यार्थी संघ धनुषाको दबाबमा पुनः मिति २०८१र०७र१४ गते फरक किसिमको निर्णय गर्नु आपत्तिजनक विषय हो ।’

ठाकुरले नेविसंघले चलाएको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान जनकपुरधामबाहेकका शहरमा किन नचलाइएको भन्दै प्रश्न गरे ।

मोडेल मल्टिपल कलेजका संस्थापक वीरेन्द्रकुमार साहले छात्रवृत्ति वितरण कार्यविधि, २०७४’ बमोजिम छात्रवृत्ति दिने निर्णयलाई खारेज गरी रजिष्ट्रेशन शुल्क र परीक्षा शुल्क मात्रै लिन पाउने भनी एउटै स्थानीय तहले फरकफरक निर्णय गर्नु लज्जास्पद रहेको बताए । उनले उपमहानगरले सबै पक्षसँग छलफल गरेर आफ्नै कार्यविधि बनाउनुपर्ने माग समेत गरे ।उपमहानगरले सबै पक्षसँग छलफल गरी बनाएको कार्यविधिलाई टेकेर अगाडी बढ्न हामी तयार रहेको उनको भनाई थियो । तर जनकपुरधामको शैक्षिक गुणस्तर बढिरहेको समयमा यहाँका शैक्षिक संस्थालाई धराशायी बनाउने गरी गरिएको निर्णय आफूहरू मान्न तयार नरहेको उनको भनाई थियो । एनप्याब्सन जनकपुर उपमहानगरपालिकाका इकाईका अध्यक्ष दीपककुमार ठाकुरले समयमा आफूहरूका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यता निजी विद्यालयका सङ्गठनहरूले जनकपुरधाम उपमहानगरले पुरानै निर्णयअनुसार शुल्क निर्धारण नगरे सम्पूर्ण निजी विद्यालयहरू अनिश्चितकालका लागि ठप्प पार्ने चेतावनी समेत दिएका छन् । निजी विद्यालयका सङ्गठनहरूले पुरानै निर्णयअनुसार उपमहानगरले शुल्क निर्धारण नगरे निजी विद्यालयहरूमा पठनपाठन अनिश्चिकालकालागि ठप्प पार्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर