सामाचकेवा आत्मानुशासनको पर्व हो : मुख्यमन्त्री सिँह

जनकपुरधाम,
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोषद्वारा जनकपुरधाममा आयोजित सामाचकेवा मूर्तिकला निर्माण कार्यशालाको आइतबार उद्घाटन गरेका छन् ।
मुख्यमन्त्री सिँहले मधेशका पर्वतिहारले सामाजिक सम्बन्धलाई सुदृढ बनाउन तथा नयाँ पुस्तामा आत्मानुशासन तथा समूहबद्ध भएर काम गर्ने संस्कार र चेतना दिनुका साथै असल जीवनशैलीको अभ्यासका लागि प्रेरित गर्नेगरेको बताए ।
उनले सामाचकेवा पर्वले भाइबहिनीबीचको स्नेहलाई प्रकट मात्र गर्ने नभएर टोलछिमेकसँगको कसिलो र सार्थक सम्बन्ध र त्यसबाट सकारात्मक परिणाम खोज्ने रीति रहेको भन्दै पर्वका क्रममा उधिन्ने विषयवस्तु, परिवेश र पात्रहरूले आदर्श समाज निर्माणको परिकल्पना गरेको प्रस्ट्याए ।
मुख्यमन्त्री सिँहले सबै चाडपर्वका पछाडि आध्यात्मिक, वैज्ञानिक र भौतिक चेतनासँग जोडिएका मूल्यमान्यता रहेको प्रस्ट पार्दै साँस्कृतिक तथा परम्परागत पर्वतिहारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले सामाचकेवाका पात्रहरूको परिचय र महत्त्वसहितको आधिकारिक विवरण समेटिएको श्रव्यदृश्य निर्माण गर्न सञ्चारकर्मीहरूसँग आग्रह गरे । उनले भने, ‘साँस्कृतिक उत्सव र यसभित्रका अन्तर्वस्तुको अभिलेखीकरण हुनेछ ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मान गर्ने उद्देश्यले सामाचकेवासम्बन्धी कार्यशाला आयोजना गरिएको भन्दै मूतिकलामा निपुणताबाट जीविकोपार्जनको अवसर जुर्नसक्ने बताए ।
उनले कार्यविधिबाट नभएर ऐनबाटै मधेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्न सुझाए । नारदमणि हार्तम्छाली
मधेश प्रदेशसभाका सदस्य रामसरोज यादवले सँस्कृति उत्थानका लागि मैथिली विकास कोषले काम गरिरहेकोमा सराहना गरे ।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले सामाचकेवा लोप नभई सामाचकेवाका पात्रहरूका बारेमा परिचय र भूमिका पुनर्स्थापित हुन आवश्यक रहेको बताए ।
साहित्कार डा.राजेन्द्र विमलले मिथिलाञ्लका परम्परापछाडि जीवनमूल्य रहेको उल्लेख गरे ।
सामाचकेवा नारीशक्तिको महत्ता, पारिवारिक ढाँचाको पुनर्गठन, पर्यावरण संरक्षण, असामाजिक तत्वको विरोध र सबैखाले विभेद तथा विभाजनविरूद्धको सन्देश सन्निहित रहेको डा. विमलले प्रष्ट्याए ।
तत्कालीन जिल्ला विकास समितिका सभापति रहेका रामचरित्र साहले भाइबहिनीको आत्मीय र प्रगाढ सम्बन्धको पर्व सामाचकेवालाई गाउँघरबाट सहरबजारसम्म पुर्याउनुपर्ने बताए ।
उनले सँस्कृति र कला उन्नयनका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताए ।
प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख एवम् प्राज्ञ सदस्य दिनेश महतोले रैथाने कलालाई इतिहासका पानामा हराउन नदिन नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए ।
कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवाका मूर्ति निर्माण कार्यशालाबाट नयाँ पुस्तामा समेत आफ्ना परम्परागत कला सिक्न र जगेर्ना गर्ने कौशल हासिल हुने बताए । उनले जनकपुरधाम र यहाँका धरोहरहरूको गौरव गरिमा वृद्धि गर्नेगरी जनक र जानकीको मूर्ति उत्पादन गर्ने र बिक्रीवितरण गर्ने प्रबन्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्यमन्त्री सिँह र नेपाल ललितकला प्रतिष्ठानका कुलपति हार्तम्छालीलाई आयोजक संस्था कोषले सम्मान गरेका थिए ।
मिथिलाञ्लका ख्यातिप्राप्त गायक सुनिलकुमार मल्लिकले सामाचकेवाका गीत गाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर