रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

पोखरा

सहकारी ठगि र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने माथि तेस्रो पटक थपिएको म्याद आज सकिएको थियो । आजै उनलाई अदालत उपस्थित गराइएको थियो ।
न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
यसअघि अदालतबाट पहिलो पटक ६ र दोस्रो पटक ७ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो ।
यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई पोखरा लगिएको थियो ।
लामिछाने सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सरकार समक्ष कारबाही सिफारिस गरेको थियो । सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि लामिछाने पक्राउ परेका हुन् ।
उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ । सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर