डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा विजयी,विश्वका नेताहरुले दिए बधाई

काठमाडौँ, एजेन्सी
अमेरिकी राष्ट्रपति पदको चुनावमा डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भएका छन । कुल ५३८ सिटमा ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यम एपी न्यूजले जनाएको छ । जित्नका लागि कम्तीमा २७० सिटमा विजय हुनुपर्ने थियो । ट्रम्पको जितसँगै अमेरिकामा राजनीतिक दिशामा परिवर्तन आउन सक्ने सङ्केत देखिएको छ ।
उनको विजयले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न प्रतिक्रिया उत्पन्न गराएको छ, विशेषगरी अमेरिका–चीन सम्बन्ध, जलवायु परिवर्तन नीतिहरू र नाटो जस्ता मुद्दाहरूमा गहिरो प्रभाव पर्ने अनुमान गरिएको छ ।
अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उनको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणामबारे औपचारिक रूपमा घोषणा भइनसकेको भए पनि उनलाई बधाई दिने क्रम सुरू भएको हो ।
युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरेका छन ।
उनले भने, “म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु । इयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन् । हामी हाम्रा जनताबिचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।”
“हामी एक बलियो ट्रान्सएटलान्टिक एजेण्डामा सँगै काम गर्नेछौँ,” भोन डेर लेयेनले एक्समा लेखेका छन ।
त्यसैगरी, उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उनको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिँदै भने, “हामीले आगामी चार वर्षसम्म सम्मान र महत्वाकाङ्क्क्षाका साथ उहाँसँग काम गर्न तयार छौँ ।”
अमेरिकी राष्ट्रपतीय निर्वाचन परिणाममा अग्रता कायम गरिरहेको अवस्थामा नै सामाजिक सञ्जाल ‘एक्स’ मा म्याक्रोँले लेखेका छन, “तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको ‘चुनावी विजय’को प्रशंसा गरेका छन । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन, “मेरो मित्र डोनाल्ड ट्रम्प तपाईंको ऐतिहासिक चुनावी विजयका लागि हार्दिक बधाई छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर