अमेरिकी राष्ट्रपतिमा ट्रम्पको जीत निश्चित

एजेन्सी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित निश्चित भएको छ । रिपब्लिकन पार्टीका ट्रम्प डेमोक्रेट्स पार्टीकी कमला ह्यारिससँग मतान्तर बढाउँदै दोस्रोपटक ह्वाइट हाउसको यात्रा तय गर्ने पक्का भएका हुन् । ट्रम्पले हालसम्म २६७ सिटमा विजय हासिल गरेका छन् । कमला ह्यारिसले २२४ सिटमा जित निकालेकी छन्। साथै हाल गणना भइरहेका अन्य राज्यहरूमा पनि ट्रम्पको अग्रता कायम छ ।
सन् २०१६ मा भएको निर्वाचनमा डेमोक्रेट पार्टीकी हिलारी क्लिन्टनलाई ट्रम्पले हराएका थिए । ट्रम्प सन् २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए । सन् २०२० को निर्वाचनमा भने डेमोक्रेट पार्टीका जो बाइडेनले ट्रम्पलाई हराएका हुन् । अमेरिकाका ५० राज्यका ५३८ इलेक्टोरल भोट अथवा सिटका लागि भोटिङ मंगलबार भएको थियो । बहुमत आउन २७० सिट जित्नुपर्ने हुन्छ ।
राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकन पार्टीले नै वर्चस्व कायम गरेको छ । ट्रम्पले यो चुनाव जितेसँगै उनी ४ वर्षपछि ह्वाइट हाउस फर्कनेछन् ।
ट्रम्पले जित निश्चित भएसँगै फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै छन् । उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका हुन् ।
ट्रम्पले संवोधन गर्दै भने, ’हामी हाम्रो देशलाई पुनः अगाडि बढाउने छौं । अमेरिकाको लागि यो“स्वर्ण युग“ हुनेछ ।’ उनले यो अमेरिकी जनताका लागि ठूलो विजय भएको र यसले अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाएको बताएका छन् ।ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, ’अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।’

प्रतिक्रिया
सम्बन्धित खवर