काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई मंगलबार जिल्ला अदालत कास्कीले थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीले भने थप २५ दिन मागेको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप दश दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । लामिछाने माथि दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको अधिकारीले बताए ।
यसअघि अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो । यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो । लगत्तै उनलाई पोखरा लगिएको थियो ।
लामिछाने सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै सुर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सरकार समक्ष कारबाही सिफारिस गरेको थियो । सरकारले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि लामिछाने पक्राउ परेका हुन् ।
सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ ।कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गरेको हो ।
लामिछानेको पक्षमा विरोधमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।मङ्गलवार मध्याह्न पोखराको रत्न चोकमा प्रदर्शन गरिरहेका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेपछि केही बेर प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सीसमेत भएको थियो ।
साथै प्रहरीले रास्वपाको आन्दोलनमा प्रयोग भएको गाडीको चाबी खोसेको छ । प्रहरीले चाबी खोसेपछि रास्वपा सांसद शोविता गौतमले प्रहरीसँग चाबी मांगेका थिइन ।
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति,कार्यकर्ताको विरोध ,प्रहरीको हस्तक्षेप
प्रतिक्रिया
भर्खरै प्रकाशित
ट्रेन्डिङ
© 2024 JN Khabar | All Right Reserved | Cool Media Pvt. Ltd.
Designed by: ProTech