जनकपुरधाम
आज धनतेरस पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ । तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
“सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो”, उनले भने ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिए । तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे । उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।
गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।
धनतेरस पर्वसम्बन्धी कथा
पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ । यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ । प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए ।
विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् । रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो ।
यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो- पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ । धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ ।
रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् ।